बझाङ कारागारको आइसोलेसनबाट विप्लव समूहका कार्यकर्ता फरार

Posted on: 11 Nov, 2020

कार्तिक २६, बझाङ  | बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन् | बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन् |

जेलर झलक रोकायाका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन् | धामी कात्तिक १८ गते मात्रै पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो। 

कारागार आउनुअघि १७ गते उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई कारागारभित्रैको आइसोलेसनमा राखिएको थियो। ‘बन्दीगृह भन्दाबाहिरको आइसोलेसनमा हामीले उनलाई राखेका थियौं। बिहान ६ बजेदेखि सवा ६ बजेको बीचमा उनी भागेका हुन्,’ उनले भने, ‘प्रहरीको ड्युटी परिवर्तन हुने समय थियो। एउटाले ड्युटी सकेर अर्को आउनेबीचको समयमा उनी भागे।’

उनी त्यहीँबाट पर्खाल चढेर भागेको जेलर रोकायाले बताए। जेलर रोकायाका अनुसार उनलाई राखेको ठाउँका पर्खाल अग्लो थिएन | ‘केही मिटरको पर्खालमा आइसोलेसन बनाइएको थियो। त्यहाँ पुरानो बन्दीगृहका काठका टुक्राहरू थिए,’ जेलर रोकायाले भने, ‘राति त्यो झिकेर त्यसमाथि चढेर भागेका हुन्।’

उनी भागेको खबर पाएपछि प्रहरीले उनको खोजी  थालेको छ | उनलाई अदालतले दुई लाख १० हजार धरौटी मागेको थियो। तर, तिर्न नसकेपछि उनी पुर्पक्षका लागि कारागार चलान भएको जेलर रोकायाले बताए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!