बाजुराका जनता भवन निर्माण कार्यालयसँग असुन्तष्ट

Posted on: 19 Feb, 2017

फागुन ८, बाजुरा । सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । 

भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन् । 

जिल्लाका काँडा, डोगडीलगायतका गाविसमा निर्माण भएका स्वास्थ्य चौकीका भवन सात वर्ष बढी बितिसक्दा पनि अझै पूरा नभएको र अन्य जिल्लाको पानी निकास हुने ढलको मनोमानी रुपमा सर्भे गरी निर्माण कार्य थालेको भन्दै डिभिजन कार्यालय डोटीका प्रमुख झपडसिंह विश्वकर्मालाई गुनासो सुनाएका थिए । 

शनिबार जिल्लाको भवन निर्माण डिभिजन कार्यालय बाजुराका लागि आएका भवन निर्माण र लागतका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको औपचारिक भेटघाट कार्यक्रममा जिल्लाको रकम सही सदुपयोग नहुनुका साथै समयमै भवन निर्माण नभएकोमा उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले गुनासो गर्नु भयो । 

भवन निर्माण डिभिजन प्रमुख झपडसिंह विश्वकर्माले बाजुराका लागि सहरी विकास भवन मर्मत सुधार कार्यक्रम, १०० जनता आवास कार्यक्रममा, भूकम्पीय जोखिम न्यूनीकरण कार्यक्रम सुरु हुने बताउनुभयो । 

विश्वकर्माले भन्नुभयो बाजुरामा आठ वटा भौतिक मर्मत कार्यक्रम सञ्चालन भइरहेका छन् , जिल्लामा नमुना एकीकृत बस्ती विकास कार्यक्रम, नयाँ निर्माण भएका नगरपालिका भवन निर्माण कार्यक्रम भइरहेका छन् । 

सदरमुकाम मार्तडीको पानी निकास हुने नहर र कोल्टी बजारका लागि नहर बनाउने ठेका भइसकेका छन् । जिल्ला अस्पतालमा भवन नहुँदा बिरामी सास्ती भोग्दै आएकोमा ५० श्ययाको भवन निर्माणका लागि छिटो पहल गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर मोहन नाथले माग गर्नुभयो । 

जिल्लामा आएको गत आवको रकम समेत सही सदुपयोग नभएको र जिल्लाको भवन निर्माणका लागि बनेको गुरुयोजना कार्यान्वयन नभएको पदम बडुवालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!