'बाजुराको विकास एकद्वार प्रणाली'

Posted on: 29 Aug, 2017

भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ । 

आइतबार यहाँ आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाको विकासका लागि कुनै बाधा नपुर्याउने बताउनुभयो । 

जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसँग जिल्ला समन्वय समितिका पदाधिकारीको चयन भएपछि परिचयात्मक तथा स्थानीय तहमा रहेका गाउँपालिका र नगरपालिकामा समन्वयात्मक कार्य गर्नका लागि आयोजित कार्यक्रममा प्रमुख रोकायाले सडक शिक्षालगायतका क्षेत्रमा एकद्वार प्रणालीको नीति अपनाएर लैजानेमा प्रतिबद्धता जनाउनुभएको हो । 

जिल्लाको विकासका लागि गरिने निर्णयलाई राजनीतिक दलको सुझाव सल्लाहलाई मध्यनजर गर्दै जाने प्रमुख रोकायाको भनाइ रहेको छ । विकास कार्यका लागि निर्णय गर्दा कुनै बाधा अड्चन नगर्न राजनितिक दलहरुलाई प्रमुख रोकायाले आग्रह गर्नुभएको छ । 

जिल्लामा हुने विकास निर्माण कार्य र अन्य संघसंस्थाले गर्ने कामको बफादारी भएर लाग्नेमा जोड दिनुभएको छ । अबको युग भनेको नैै उपलब्धिमूलक भएकाले कामभन्दा उपलब्धि देखाउन सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसँग आग्रह गर्नुभएको छ । 

कार्यक्रम लिएर कुनै उपलब्धि नभए त्यसको कुनै औचित्य नहुने उहाँले बताउनुभयो । आयोजित कार्यक्रममा प्रमुखले मात्र केही नहुने हँुदा विकासमा सबैले जिम्मेवार हुनुपर्छ– रोकायाले भन्नुभयो । 

समन्वयात्मक कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जिल्लाको र नगर तथा गाउँपालिकाको नीति नियममा सबैले पालना गरे विकासमा कुनै समस्या नहुने बताउनुभएको छ । 

आफूले नगरको विकासका लागि सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभएको छ । नेकपा (एमाले)का उपसचिव गगन रावलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन भएकाले नवनिर्वाचित पदाधिकारीले जनतामुखी काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जिल्ला, गाउँपालिका र नगरपालिकामा कृषि क्षेत्रलाई बढी प्राथमिकता राख्नुपर्ने बताउनुभएको छ । 

रावलले स्थानीय तह सञ्चालनका लागि स्पष्ट खाका नभएकाले काम गर्न त्यति सहज नभएपनि विकास देखिने गरी काम हुनुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको विकासमा सबैले एक भएर जानुपर्ने रावलको भनाइ छ । अबको प्रदेश तथा संघीय चुनाव तोकिएको समयमा हुनुपर्ने माग गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लाका नौवटै स्थानीय तहका शान्ति सुरक्षा कायम गर्न कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । जिल्लाको विकासमा कुनै बाधा आउन नदिन सुशासन कायम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । 

आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!