बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

Posted on: 05 Sep, 2019

भदौ १९, बाजुरा | सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबलकार सञ्चालनका लागि सम्भाब्यता अध्ययन सुरु गरेको हो ।

बडिमालिका नगरपालिका मेयर पदम बढुवालले सम्भाव्यता अध्ययनसंगै विस्तृत परियोजना प्रतिवेदन तयार पार्नका लागि चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको बताए। नगरपालिकाले केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कार्य सुरु गर्दै लगानिकर्तासंग छलफल गरिरहेको छ, मेयर बढुवालले भने, प्रदेश र संघीय सरकारसँग पनि छलफल अगाडी बढाएका छौ। बडिमालिका ६ बुढाकोर्द गाउँलाई आधार बनाएर बडिमालिकाको लौरी बिनायक सम्म केबलकार निर्माण गर्ने योजना अघि सारिएको उनले बताए।


बुढाकोर्द बडिमालिका जाने पदमार्ग हो। सदरमुकाम मार्तडीदेखि उक्तगाउँ ९ किलोमिटर टाढा छ। प्रारम्भिक अध्ययनले केबलकारको दूरी ४ दशमलव ८६ किलोमिटर हुने देखिएको रिडा कम्पनीका अनुसन्धानकर्ताले बताए। लौरी विनायकबाट बडिमालिकाको त्रिवेणी पुग्न २ घण्टा लाग्दै आएको स्थानियले वताएका छन्।

बडीमालिकामा यातायात र अन्य सुविधाको अभावमा पर्यटक सास्ती खेप्न बाध्य छन्। केबलकार सञ्चालन भए यस क्षेत्रको आर्थिक विकासले कोल्टे फेर्ने उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताए। बडिमालिकामा मुख्यपूजा जनैपूर्णिमाको अघिल्लो दिन गरिन्छ।

बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ। २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन्। आर्थिक बर्ष २०७४/०७५ मा सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिमालिकामा केबलकार बनाउने नीति तथा कार्यक्रममा पाश गरेको थियो।

तर प्रदेश सरकारले भने कुनै पनि प्रक्रिया अगाडी बढाएको छैन्। तत्कालिन जिल्ला विकास समितिले गुरुयोजनामा पनि केबलकार सञ्चालन गर्ने राखेको थियो तर कुनै प्रक्रिया अगाडी बढ्न सकेको थिएन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!