बाजुरामा शव ल्याउन गएको हेलिकप्टर मौसम खराबीले अवतरण भएन

Posted on: 07 Aug, 2017


साउन २३, बाजुरा । बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन । 

शनिबार राति ८.३० बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो । 

मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकप्टर मौसम खराबीका कारण घटनास्थलतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । 

बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको हो । घटनामा तीनजना प्रहरी र मृतकका आफन्त मात्र साथमा रहेको प्रहरीको भनाइ रहेको छ । 

शवलाई हेलिकप्टरबाहेक अन्य माध्यमबाट ल्याउन सक्ने अवस्था नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताउनुभयो । 

शव ल्याउनका लागि हेलिकप्टर तयारीमा भए पनि मौसमले मुस्किल भएको निमित्त प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ । अहिले हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!