बाजुरामा खाद्यान्न सङ्कट

Posted on: 06 Sep, 2018

भदौ २१, बाजुरा | जिल्लामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ ।  वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको हो । मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल भदौको तेस्रो सातामै वितरण गरिएपछि अहिले गोदाम रित्तो छ । हाल डिपोमा रहेको ३० क्विन्टल गहुँ वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखाले जनाएको छ । 

संस्थानले मोटो चामल प्रतिकिलो रु ३५ देखि रु ३९ तथा मसिनो सोना मनसुली रु ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो रु ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताए । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ । 

डिपोमा चामल सकिएपछि रित्तो हात घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताए । ‘पूरै बजार चाहार्दा एक पेटी चाउचाउ मात्र भेट्टाए,’ उनले भने । यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो । खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा यस वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार चामल सकिएको बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!