मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

Posted on: 12 Oct, 2018

असोज २६, बाजुरा | मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । 

‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो । औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताउनुभयो । 

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका वडा नं १, ६ र ५ वडामा देखा परेपछि परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि ‘सेभ द चिल्ड्रेन’को सहयोगमा प्रभावित बस्तीमा छर्किनका लागि पाँचवटा ठूलो ड्रममा औषधि पठाएको हो । 

औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा आएको हो, साउनमै प्रत्येकको घरमा पुगेर घर र चर्पीमा ओसिलो ठाउँमा औषधि छर्कनुपर्ने हो । तर नगरपालिकालाई तीन लाख माग गरेका हौं, एक रुपैयाँ पनि नदिँदा औषधि स्वास्थ्य केन्द्रमा अलपत्र रहेको डा सत्य शाहीले बताउनुभयो । 

मलेरिया फैलिने भनेको गर्मी र वर्षादको समयमा हो । चैतदेखि जेठमा छर्कियो भने औषधिले तीन महिना काम गर्छ, । नगरपालिकाको गैरजिम्मेवारीका कारणले मलेरिया जस्तो सरुवा रोगको औषधि अलपत्र रहेको स्थानीयवासीको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!