नमूना स्वास्थ्य केन्द्र नै चिकित्सकविहीनः आफन्त भन्छन् 'कतिदिन शव कुर्ने हो ?'

Posted on: 05 Jan, 2020

पुष २०, बाजुरा | पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र जानुभएपछि स्वास्थ्य केन्द्र चारमहिनादेख्रि चिकित्सकविहीन बनेको हो ।

अहिले स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ  । हिमाली गाउँपालिका–७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव स्वास्थ्य केन्द्रमा राखिएको चार दिन भएको छ । चिकित्सकको पर्खाइमा आफन्तजन रहेका छन् ।  शव परीक्षण हुन सकेको छैन ।  कालापडा भिरबाट कर्णाली नदीमा बिहीबार जिप खस्दा चार जनाको अकालमा मृत्यु भएको थियो ।

स्वास्थ्य केन्द्रमा आफन्त चार दिनदेखि शव कुरिरहेका छन् । शव सडिने अवस्था पुगिसकेका छन् । नागरिक अगुवा जनेश भण्डारीलले भन्नुभयो  “कोल्टीमा चिकित्सक भएको भए बिहीबार नै शव परीक्षण गरेर आफन्तले काजकिरीया शुरु गरिसक्थे । आजसम्म  शव कुरिरहनु पर्दैनथ्यो । ”

 चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला हुम्ला, कालिकोट र मुगुका जनतालाई सास्ती भएको छ । स्वास्थ्य सस्थामा दैनिक ८० बिरामी उपचारमा आउने गरेका छन् । चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी सिफारिश गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

नमूना स्वास्थ्यचौकीका रूपमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बूढीनन्दा नगरपालिका–१ का बडा अध्यक्ष नृपराज खत्रीले नमूना स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महङ्गो हवाईभाडा तिरेर नेपालगञ्ज जानुपर्ने बिडम्बना रहेको बताउनुहुन्छ  ।  वर्षात्ले मार्तडी कोल्टी अवरुद्ध हुँदा समदरमुकाम मार्तडीलगायत अन्य ठाउँमा लैजान पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसङ्ख्यालाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएको छ ।

यता जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनीहरुलाई पठाउन प्रशासन तथा अन्य निकाय कतैबाट पहल नभएपछि चिकित्सक नगएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो ।

जिल्ला अस्पताल बाजुराले परीक्षणका लागि डा राजु जोशीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली शनिबार बिहान मात्र कोल्टी क्षेत्र पठाएको छ । से१ज १०६४ नंको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो । जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!