जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

Posted on: 19 Aug, 2020

भदौ ३, जाजरकोट (रासस) । अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै भीषण वर्षाका कारण वडा नं ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १५० घर पहिराको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । केही घर चर्किएका छन् ।

पहिराको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उहाँले जानकारी दिनुभयो । बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ । पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर छेडागाड नगरपालिका–१३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन वर्षीय छोरा सुमन विकको आज बिहान परेको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङले घरमुली वीरबहादुरसहित उहाँकी बुहारी वृद्धकला परियार र परिवारका अन्य तीन जना घाइते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!