७ वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई

Posted on: 12 Apr, 2018

चैत २९ बाजुरा | राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ । 

लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात पारेको हो । 

घरेलु मैदानमा जारी १०औँ राष्ट्रपति रनिङ शिल्डमा पनि ३३ पदकसहित पहिलो भएको छ । शिल्डमा खेलाइएका ३३ खेलमध्ये १४ स्वर्ण, नौ रजत र १० कास्य पदक जितेको छ । खेलाइएका सबै खेलमा मालिकाले पदक जितेको छ । 

सरकारद्वारा नमूना विद्यालयको उपाधि दिएको मालिकाले यो वर्ष पनि आफ्नो अग्रता र जितलाई कायम गरेकामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज पाध्यायले खुशी व्यक्त गर्नुभएको छ । हामीले गरेको मेहनत र लगानीकै प्रतिफल अपेक्षाअनुसारकै नजिता निकाल्न विद्यार्थी सफल भएको उहाँको भनाइ छ । 

खेलमा भानोदय मावि दोस्रो बनेको छ भने दशरथ मावि तृतीय बनेको छ । भानोदय माविले ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० वटा पदक हात पारेको छ । 

तृतीय स्थान ल्याउन सफल दशरथ माविले ४ स्वर्ण र ३ कास्य हात पारेको छ । यस्तै अम्लिस मावि २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथौ भएको छ भने ३ खेलमा सहभागी पशुपति माविले २ वटा स्वर्ण जितेको छ । 

सबै खेलका पदक विजेतालाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!