आर्थिक समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ: राष्ट्रपति भण्डारी

Posted on: 23 Mar, 2018

चैत ९, नेपालगञ्ज  | राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल बार एशोसिएसनले आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ भन्नुभयो । 

‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानून व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ”, उहाँको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन्, यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनुपर्छ र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो । 

न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै उहाँले संविधान र कानूनको व्याख्यामा एकरुपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले कानून व्यवसायीले कानून कार्यान्वयन गराउन सहज भूमिका खेल्नुपर्छ भन्दै बरु १०० जना अपराधी छुटोस् तर, एकजना निरपराधीले सजाय पाउनु हुन्न भन्ने भावना र मान्यतामा भूमिका खोजिनुपर्छ भन्नुभयो । 

सम्मेलन उद्घाटन समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनी पैरवीकर्ताका रुपमा एशोसिएसनले आफूलाई स्थापित गर्नुपर्छ भन्नुभयो । 

उहाँले नयाँ राजनीतिक परिवेशभित्र संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकास योजनालाई पनि सँगै लिएर हिँड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

पूर्व सभामुख सुभाषचन्द्र नेवाङले नेपालको संविधानमाथि कसैको हस्तक्षेप कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै नेपाली जनता र मुलुकको आवश्यकताअनुसार संविधान संशोधन हामी आफँै गर्छौं भन्नुभयो । 

एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको सभापतित्वमा भएको सम्मेलन उद्घाटन समारोहमा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा र महासचिव खम्बबहादुर खातीले पनि बोल्नुभएको थियो । 

सम्मेलन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, नेपाल सरकारका महान्यायाधिवक्ता, प्रदेश र प्रतिनिधिसभाका सांसदलगायतका विशिष्ट महानुभावको उपस्थिति रहेको थियो । 

त्यस अवसरका एशोसिएसनका तर्फबाट अध्यक्ष केसीले राष्ट्रपति भण्डारी, मुख्यमन्त्री पोखरेल र पूर्व सभामुख नेवाङलाई मायाको चिनो प्रदान गर्नुभयो । 

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषय प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगञ्ज घोषणापत्र जारी गर्ने बताइएको छ । 

सम्मेलनमा मुलुकभरका करीब तीन हजार कानून व्यवसायीको सहभागिता रहेको छ । रासस(तस्वीर उपलब्ध छ) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!