बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

Posted on: 13 Apr, 2018

चैत ३० नेपालगन्ज | नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई रु एक÷एक लाख सहयोग उपलब्ध गराइएको छ । 

विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो सहयोग उपलब्ध गराइएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । 

क्लबका अध्यक्ष परबेजअली सिद्दिकीले वडा बाल संरक्षण समिति वडा नं १२ का संयोजक रामु चिडिमार र वडा नं १३ का संयोजक गोविन्द शर्मालाई सो चेक हस्तान्तरण गर्नुभएको थियो । 

अध्यक्ष सिद्धिकीले विपन्न परिवारका अभिभावकले अर्थाभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाएकाले सहयोग कोषले बालबालिकालाई शिक्षा दिने कार्यमा उत्प्रेरणा दिन खोजेको बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा ७१ र वडा नं १३ मा ३४ जना बालबालिका विद्यालय नगएको तथ्याँक छ । ती बालबालिकालाई यस वर्ष विद्यालय भर्ना गराउने लक्ष्य लिइएको छ । यही वैशाखदेखि शुरु हुने विद्यालय भर्ना अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक घुम्ती कोषको सहयोग उपलब्ध गराइएको हो । वडा बाल संरक्षण समितिमार्फत घुम्ती कोष परिचालन गरिएको क्लबका कार्यक्रम संयोजक आशीष बर्माले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!