नाच्ने क्रममा लडेर घाइते पत्रकार अनुपासिंहको निधन

Posted on: 19 Jun, 2018

असार ५, नेपालगञ्ज | नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । 

होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ भन्नुभयो । 

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित टेलिभिजन र रेडियोमा समाचार वाचन गर्नुहुन्थ्यो । केही महिनाअघि मात्र उहाँले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!