बाँकेमा मकै खेतीमा कृषकको संलग्नता बढ्दै

Posted on: 27 Oct, 2018

कात्तिक १० नेपालगञ्ज | बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकबाट ३५० हेक्टर जमीनमा मकै खेती हुँदै आएकामा अहिले ३५ कृषक समूहबाट ६२१ हेक्टर जमीनमा मकै खेती हुँदै आएको हो । जिल्लास्थित परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका छन् । 

परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग दिइँदै आएको बताइएको छ । “पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका कृषक रामप्रसाद यादवको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, बनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत यस जिल्लाका कृषकले हिउँदे र वर्खे मकै खेती गर्दै आएकामा आगामी आवदेखि बर्खे मकै खेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ । 

“परापूर्वदेखि मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले बाँके जिल्लालाई मकै जोनका रुपमा छनोट गरिएको हो”, परियोजना प्रमुख मिश्रको भनाइ छ । उक्त कार्यक्रमअन्तर्गत कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलब्ध गराउँदै आइएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आइएको छ । 

अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीमा रहेको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिश गर्ने भनेर तय हुने गरेको परियोजना प्रमुख मिश्र राससलाई बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!