बाँकेमा आलु उत्पादन राम्रो

Posted on: 13 Nov, 2018

कात्तिक २७, नेपालगञ्ज | बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । 

गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसीको भनाइ छ । 

जिल्लाको हिरमिनिया, सीतापुर कोहलपुर, नौबस्तालगायतको क्षेत्रलाई आलु उत्पादन विशेष क्षेत्रका रुपमा विकास गरिएको छ । बैजनाथको टिटिहिरियामा स्थानीय ‘थारु जात’ को आलुको पनि राम्रो उत्पादन हुँदै आएको छ । यो क्षेत्रमा किसानले आलुखेती व्यावसायिक रुपमा गर्दै आएका डुडुवा गाउँपालिका हिरमिनियाका किसान इफरादअलि दर्जीले बताउनुभयो ।

मौसममा उत्पादन भएको आलु प्रयोग बाह्रै महीना गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा आलुका लागि शीतभण्डारको निर्माण गरिएको । जिल्लाको बैजनाथ गाउँपालिकाको पेडारीमा अर्को शीतभण्डार निर्माण भइरहेको छ । बाँकेमा मागभन्दा कम आलु उत्पादन हुने गरेकाले भारतबाट समेत आलु आयात हुने गरेको आलुका थोक व्यापारी जङ्गली कुम्हारले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ८५० हेक्टरमा आलु खेती हँुदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!