जनता आवास कार्यक्रम अन्तर्गत २८८ घर निर्माण गरिँदै

Posted on: 17 Mar, 2019

चैत ३, राँझा (रासस) | चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा २८८ घर निर्माण गर्ने भएको छ । 

सो कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यक, लोपोन्मुख, दलित र अति गरीब परिवारका लागि सो घर निर्माण गर्ने भएको हो । प्रदेश सरकारको योजना अनुसार बाँकेका छवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३८ का दरले कुल २२८ घर निर्माण गर्ने लक्ष्य लिएको प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । 

मन्त्री पौडेलले आर्थिकरुपमा अति विपन्न र घरवारविहीन भएका दलित, अल्पसङ््ख्यक र लोपोन्मुख आदिवासीलाई आवास उपलब्ध गराउने उद्देश्यसहित जनता आवास कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गत बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) स्थित कोहलपुर नगरपालिका वडा नं १४ र १५ का खटिक र हरिजन जातिका दलित समुदायका अत्यन्त विपन्न ३८ परिवारका लागि घर निर्माण गर्ने भएको छ । 

त्यस्तै बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘ख’ स्थित पिप्रहवा तथा ३ ‘क’ स्थित चिसापानी र उढरापुरमा १९÷१९ घर निर्माण हुने प्रदेशसभा सदस्य आइपी खरेलले बताउनुभयो । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं ३ ‘ख’ स्थित खजुरा गाउँपालिका–१ मा ९, वडा नं २ मा १०, जानकी गाउँपालिका–४ मा १० र वडा नं ५ मा १० गरेर कुल ३९ घर निर्माण गरिने प्रदेशसभा सदस्य बाबुराम गौतमले जानकारी दिनुभयो । 

बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ‘क’ का प्रदेशसभा सदस्य कृष्णा केसी र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य विजय यादवले जनता आवास कार्यक्रमअन्तर्गत बनाइने घर निर्माणका लागि यस क्षेत्रमा समुदाय र स्थान छनोट भइनसकेको जानकारी दिनुभयो । 

शहरी विकास तथा भवन निर्माण कार्यालय बाँकेका प्रमुख भूपेन्द्रकुमार यादवले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार विनियोजन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु दुई लाख १५ हजार २०० बजेट विनियोजन भएको थियो । 

उक्त रकमबाट सम्बन्धित परिवारले दुई कोठा, एक भान्सा र बरण्डा भएको आवास भवन र शौचालय अनिवार्यरुपमा बनाउनुपर्ने व्यवस्था छ । जनता आवास कार्यक्रममा बाँकेमा आठ हजार ८३५ आवेदन परेकामा यो आर्थिक वर्षमा २२८ घर मात्रै निर्माण गर्ने भएको शहरी विकास तथा भवन निर्माण कार्यालय हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!