पूर्वराजा वीरेन्द्रको सालिक मध्यरातमा हटाएपछि...

Posted on: 02 Sep, 2016

भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबार राती हटाएको छ । 

जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो ।

बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन

आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो । 

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । 

नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!