बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

Posted on: 29 Dec, 2016


पुस १४, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । 

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले वनदेवीको पूजाआजा सो कार्यको शुभारम्भ गर्नुभएको हो । 

जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकोे संयुक्त पहलमा क्यामेरा ट्रयापिङको माध्यमबाट बाघको गणना गरिने भएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार निकुञ्ज स्थापना कालदेखि नै बाघको निकुञ्जमा बसोबास भएकाले प्रत्येक वर्ष गणना हुँदै आएको र बाघको उपयुक्त स्थलका रुपमा लिइएको यस निकुञ्जमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

मध्यवर्ती वन र सामुदायिक वन समेटेर १२२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी १३० वटा क्यामेरा जडान गरिएको छ । गणना गर्दा ग्रिडअनुसार बाघ हिँडने सम्भावित क्षेत्रमा क्यामेरा राखिने र प्रति ०.३ सेकेन्डमा तीन पटक फोटो खिच्ने र फोटो क्यामेरामै सुरक्षित राख्ने पछि सफ्टवयरको माध्यमबाट निकालिने जेड एसआइका प्राविधिक शैलेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । 

प्रत्यके वर्ष गरिँदै आएको गणनामा हाल बाँके राष्ट्रिय निकुञ्जमा सात वटा बाघ रहेका छन् । सन् २०१३ मा गरिएको गणनामा तीन वटा, २०१४ मा चार वटा, २०१५ मा छ वटा र २०१६ मा नौ वटा देखिएको थियो तर दुई वटा बाघ भने बर्दिया र बाँकेको उस्तै देखिएकाले सात वटालाई मान्यता दिइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!