बाँकेमा आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

Posted on: 24 Apr, 2017

बैशाख ११, बाँके । बाँकेको डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ । 

गएराति १२ बजे स्थानीय दुई छिमेकी दुलारे मुराउ र मुन्सी मुराउको घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको हो । आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सी मुराउका छ वर्षीय बालक पवन मुराउ, आठ वर्षीय बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । 

दुई छिमेकी घरबाट सुरु भएको आगो सो गाउँका नौ घर र दुईवटा गोठ जलेर करिब रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मीलगायतको सहयोगमा करिब ५ घन्टामा नियन्त्रणमा लिइएको थियो । 

आगलागीपछि सर्भेका लागि घटनास्थल पुगेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको टोलीले नौ घरलाई प्रतिपरिवारलाई १० हजारको प्याकेज गैरखाद्य सामग्री वितरण गरेको सो कार्यालयका प्रल्हाद विश्वकर्माले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!