उपमहानगरलाई महानगर बनाउन अध्ययन

Posted on: 09 Aug, 2018

साउन २४, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । 

“महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । 

महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत छुट्याइएको छ । प्रदेश नं ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ । सोही अवधारणा अनुसार नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो । प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । 

“अबको स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ सक्छाँै”, राणाले भन्नुभयो । बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो । महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!