नेपालगञ्जमा तरकारीको माग बढ्दो

Posted on: 16 Sep, 2018

भदौ ३१, नेपालगञ्ज | शहरीकरणसँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो । 

विशेषतः प्रदेश नं ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा केही सङ्ख्यामा चितवन, पर्वत तथा गुल्मीबाट व्यापार, व्यवसायका लागि सर्वसाधारण आउने गरेका छन् । जनसङ्ख्या बढेपछि तरकारीको माग पनि क्रमशः बढदै गएको हो । पछिल्लो समयमा नेपालगञ्जमा भारतीय तरकारीको खपत बढी हुने भए पनि अहिले प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउन थालिएको छ । 

यहाँका बासिन्दाको पहिलो रोजाइमा पहाडी जिल्लामा उत्पादन भएको तरकारी पर्ने गर्छ । “पहाडी भेगमा उत्पादन भएको तरकारी स्वच्छ हुन्छ,” नेपालगञ्ज–९ बाँकेगाउँका सीता श्रेष्ठले भन्नुभयो । तरकारी सस्तो, स्वादिलो र गुणस्तरीय भएकाले उपभोक्ताको रोजाइ त्यसतर्पm बढ्दै गएको हो । नेपालगञ्जमा विशेषगरी सल्यान, रोल्पा, दैलेख, सुर्खेत र दाङबाट तरकारी ल्याएर बिक्री गरिँदै आएको छ । भारतबाट मौसमी तरकारी आयात गरिन्छ । 

रानीतलाउ तरकारी बजार सञ्चालक समितिका सदस्य मेराज कबडिया पहाडी भेगमा उत्पादन भएको तरकारी नै बढी बिक्री हुने गरेको बताउनुहुन्छ । पडाडी जिल्लाबाट गोलभेँडा, बन्दागोभी, काउली, खुर्सानी, सिमी, आलुलगायतको तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । नेपालगञ्जमा दैनिक झण्डै २०० क्विन्टल तरकारी खपत हुने गरेको तरकारी थोक बजार समितिको तथ्याङ्कमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!