बाँकेका सात स्थानीय तह एम्बुलेन्सविहीन

Posted on: 10 Dec, 2018

मङ्सिर २४, बाँके | बाँकेका आठमध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । नरैनापुर गाउँपालिकाले केही महीनाअघि एउटा एम्बुलेन्स खरीद गरेको छ । गाउँपालिकामा उपयुक्त सडक नहुँदा उक्त एम्बुलेन्स पनि नियमित सञ्चालनमा आउन सकेको छैन । 

अधिकांश गाउँपालिकाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता छ तर करीब दुई वर्षअघि चुनिएका जनप्रतिनिधिले स्थानीय तहको बजेटमा आफ्ना लागि भने महङ्गा गाडी किनेका पाइएको. छ । 

जिल्लामा भएका एम्बुलेन्सले सुविधा दिनुभन्दा सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पुर्याएर कमिसन खाने गरेको गुनासा पनि आइरहेका छन् । नेपालगञ्जबाट भारतमा पठाइएका बिरामीलाई आफ्नो अनुकूलका अस्पतालमा पुर्याएर एम्बुलेन्स चालक र सञ्चालक समेतले कमिशन खाने गरेको खुलेको छ । 

नागरिकको गुनासो आएका कारण अब यस्ता एम्बुलेन्सको निगरानी गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताउनुभयो । जिल्ला एम्बुलेन्स सञ्चालक समितिले विभिन्न सङ्घसंस्थाहरुले समितिले तोकेको मापदण्ड पूरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमतिपत्र दिइएको छ । तीबाहेक अन्य एम्बुलेन्स अब निगरानी गरिने जनाइएको छ । 

नेपालगञ्जमा तोकिएको मापदण्ड पूरा गरेका १० वटालाई ‘ग’ श्रेणीको र एउटालाई ‘ख’ श्रेणीको अनुमति यसअघि प्रदान गरिएको अधिकृत चन्दले जानकारी दिनुभयो । जिल्लामा ३९ वटा एम्बुलेन्स र तीन वटा शववाहन सञ्चालनमा रहेकामा अधिकांश मापदण्डविपरीत छन् । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!