भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

Posted on: 22 Mar, 2019

चैत ८, बाँके | भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । 

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताउनुभयो । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उहाँले बताउनुभयो । 

भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए । रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ । 

गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताउनुभयो । 

यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ । 

सीमामा एक्सरे मेसिन अलपत्र 

भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई एक्सरे मेसिन एक वर्षदेखि गोदामै थन्किएका छन् । नेपाल प्रवेश गर्ने विन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने÷लैजाने हरेक सामानको जाँच गर्ने मेसिन प्रयोगविहीन भएका हुन् । 

एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेसिन छ । दुवै मेसिन रु एक करोड बढी मूल्यको रहेको भन्सार कर्मचारीले बताएका छन् । ती मेसिन एक वर्षअघि नेपालगञ्ज ल्याइएका थिए । यस्तै प्रकारको मेसिन विराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीको भनाइ छ । 

नेपालगञ्ज नाका हुँदै अहिले जोकोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेसिन भने त्यसै थन्किएको छ । भन्सारले मेसिन राख्ने उपयुक्त ठाउँ खोज्दाखोज्दै एक वर्ष बितेको बताएको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भए पनि त्यहाँ मन्दिरका सटरहरु छन् । 

उक्त सटरमा मेसिन राख्न उपयुक्त हुने भए पनि मन्दिर सञ्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ । त्यस्तै भन्सारकै तल्लो क्षेत्रको विन्दुमा अब मेसिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनुभयो । उहाँले आफू आउनुअघि नै उक्त मेसिन आएको र जतिसक्यो छिटो मेसिन जडान गर्ने जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!