भारतीय प्रहरीले गोली हानेर उपचार गर्न भन्दै लगेका दुई नेपाली आठ वर्षदेखि बेपत्ता

Posted on: 28 Mar, 2019

चैत १४, धम्बोझी (रासस) | जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । 

गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारेमा भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ ।” 

घाँस, दाउरा गर्न गएका उनीसहित अन्य नेपाली भारतीय वन समयमाता मन्दिरको घना जङ्गलमा पुगेका थिए । जङ्गलमा नेपाली देखेपछि भारतीय वनरक्षकले गोली चलाएका थिए । गोलीले घाइते भएका उनलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको लोधकी श्रीमती पार्वतीले बताउनुभयो । 

विसं २०६७ फागुन ५ गते नै बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ । दुवैको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । 

लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए । दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताउनुभयो । घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए । 

घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोजतलास गरे पनि फेला नपरेको आफन्तको दाबी छ । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् । गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएका लोधको खोजी राज्यले गर्नुपर्ने बताउनुभयो । लोधका श्रीमती एक छोरी र दुई छोरा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!