भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण प्रयास, ६५ राउन्ड हवाई फायर

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौं । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त बनेको छ । प्रहरीले उक्त घटना पछिको स्थितिलाई नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नु परेको छ ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेका थिए । उक्त समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।

डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसपछि त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह नेपाल छिरी चौकी घेरेका थिए । उनीहरुले चौकी घेरेर तोडफोड गर्नुको साथै ढुंगामुढा गर्न थालेपछि प्रहरीले ६५ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीको हवाई फायरपछि उक्त समूह तितरवितर भएको थियो । राति १२ बजेपछि घटना साम्य बनाउन सफल भए पनि प्रहरीहरु थप घटना हुन सक्ने आशंकामा सतर्क बसेका छन् ।

बिरोध गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड गरेको छ । घटना हुनु अघि उक्त चौकीमा प्रहरीको उपस्थिति कमजोर देखेपछि भारतबाट थप युवा उक्त ठाउँमा आएका थिए । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!