रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ

Posted on: 15 Jun, 2019

जेठ ३२, बाँके | नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

नालामा डुबेर एकको मृत्यु

यसैगरी बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ ।

शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता हुनुभएको थियो । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले जानकारी दिनुभयो ।

यो नालामा प्रत्येक वर्ष पौडी खेल्ने व्यक्तिको डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमीनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी अगुवा सूर्य ढकालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!