आगलागीबाट रु एक करोड बढीको क्षति

Posted on: 25 Oct, 2019

कात्तिक ८, बाँके | नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । 

आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो । तीन महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!