भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण

Posted on: 20 May, 2020

जेठ ७, बाँके | बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी  खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुराक्ष् ोत्रमा उच्च सतर्कता अपनाइएको छ । 

खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।  खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ । 

सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पुर्याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । 

कपिलवस्तुमा  ५९ सङ्क्रमित

जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु र  महाराजगञ्ज नगरपालिकामा नौनौ,  कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा आठआठ, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा चारचार, शिवराज नगरपालिकामा तीन तथा शुद्धोधन गाउँपालिका र  र वाणगङ्गा नगरपालिकामा एकएक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

जिल्लामा आज पुष्टि भएकामध्ये नौ  महाराजगञ्ज र तीन जना विजयनगरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा १३ जनामा पुष्टि भनिए पनि जिल्लामा १२ जनामा मात्र फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । भगतका अनुसार सङ्क्रमित १२ मध्ये पाँच पुरुष र सात महिला छन् ।  

 महाराजगञ्ज  ९ सिसवामा रहेको शिवभारी माविको क्वारेन्टिनमा आठ जना बसेका थिए भने बाँकी एक जना वडा नम्बर १ मा रहेको कन्या माविको क्वारेन्टिनमा बसेका हुन् । आठ जना एउटै गाउँ तेनुवाका छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । तीमध्ये आमाछोरी  संक्रमित छन् ।  वडा नम्बर ८ सिसवाका अढाइ वर्षीय बालक तथा चार र ६ वर्षीया बालिका, ३२ वर्षीया महिला दुई , २५ र १६ वर्षीया महिला तथा १२ वर्षीय बालक संक्रमित फेला परेका छन् । यस्तै वडा नम्बर १ का २० वर्षीय पुरुष संक्रमित भेटिएका छन् । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवानी महिला विद्यालयको क्वारेन्टिनमा छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । 

उता विजयनगरमा नौ जनामा कोराना पुष्टि भएको छ । उनीहरु सबै ११ दिनअघि भारतबाट आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।  तीनै जना संक्रमित १३ दिनबाट वडा नम्बर ६ को रामशरण आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको थापाले बताउनुभयो । गाउँपालिकाले आइसोलेशन सेन्टर निर्माण गरेकाले तीनै जनालाई त्यसमा राखिएको उहाँको भनाइ छ ।  वडा नम्बर २ का सङ्क्रमित २२ वर्षीय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष दाजुभाइ हुन् । 

जिल्लामा मंगलबार कोरोना पुष्टि भएका चार जना जिल्लाको दक्षिणी नेपाल भारत सीमावर्ती मायादेवी गाउँपालिका हुन् । उनीहरु वैशाखको तेस्रो साता भारतबाट फर्किएर गाउँमा आएपछि स्थानियको सहयोगमा प्रहरीले क्वारेनटाईनमा पुर्याएको थियो । चार जना नै भारतको मुम्बईबाट वैशाख तेस्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई चार जना नै क्वारेन्टिनमा १४ दिन बसेपछि गत शनिबार आरडिटी गर्दासमेत पोजेटिभ देखिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!