मनसुन थप सक्रिय : राप्ती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Posted on: 19 Jul, 2020

साउन ४, राँझा। मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार, राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण  मानवीय र धनमालको क्षति हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सतर्कता अपनाउन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ ।

बाँकेमा शनिबार बिहानदेखि नै मनसुन सक्रिय भएको छ । पहाडी जिल्लामा बर्षात हुनासाथ राप्ती नदीमा बाढी आउने भएकाले सुरक्षा संयन्त्र, रेडक्रस, विपद् व्यवस्थापन समितिहरुलाई विपत् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरिएको छ ।

आगामी केही दिन अविरल वर्षा भई बाढी आउने सम्भावना उच्च रहेकाले पूर्वतयारी तथा सतर्कता अपनाउन आम नागरिकलाई अनुरोधसमेत गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बताउनुभयो । भारतले राप्ती नदीमा लक्ष्मणपुर र कलकलवा तटबन्ध बनाएपछि बाँकेको नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् । राप्ती नदीमा बाढी आउँदा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, वनकट्टी, कम्दी र नरैनापुर गाउँपालिकाको गङ्गापुर, मटेहिया, नरैनापुर तथा लक्ष्मणपुर गाउँ डुबानमा पर्ने गरेको उहाँको भनाइ छ ।

भारतले दशगजामा सडकजस्तो बाँध बनाएपछि हिरमिनिया, जयसपुर, पिप्रहवा, भवानीयपुर, राधापुरलगायत ठाउँ डुबानमा पर्ने जोखिम रहेको छ । राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवाभन्दा सडकजस्तो बाँधले डुबानको क्षेत्र बढाएको छ । ठूलो पानी परेमा नेपालगञ्जसमेत डुबानमा पर्ने जोखिम रहेको छ । नेपालगञ्जको पानीको निकास पनि सडकजस्तो बाँधले थुनेको छ । प्राकृतिक बहावलाई रोकिएको छ ।

सडकजस्तो बाँध भत्काउन नसके पनि पानीको निकास हुने गरी ठाउँठाउँमा ठूल्ठूला कल्भर्ट बनाउन आवश्यक रहेको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव एवम् होलियाका स्थानीय बासिन्दा राजकुमार शुक्ला बताउनुहुन्छ । उहाँका अनुसार, पानीको निकास हुने गरी कल्भर्ट हाल्न नसकिए बाँकेको भारतसँग जोडिएको दक्षिणी भेग पूरै डुबानमा पर्ने खतरा बढेको छ । रासस 

 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!