बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु, १२ घाइते

Posted on: 01 Dec, 2020

मंसिर १६, बाँके | बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने,१२ घाइते भएका छन् | जानकी गाउँपालिका ५ बानियाँगाउँमा दुई पक्षबीच भएको झडपमा जानकी गाउँपालिका ५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको हो |

सोही गाउँपालिका ५ गुरुवागाँउस्थित नागबाबा कुटीमा कार्तिके पूर्णिमाको अवसरमा लागेको परम्परागत मेलामा बानियाँगाउँ बस्ने २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण सामान्य विवाद भएको थियो |

सोही विषयलाई लिएर दुबै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा गम्भीर घाइते भएका धनिरामको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ |

झडपमा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् | जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!