कोरोना सङ्क्रमणबाट बाँकेमा स्टाफ नर्ससहित दुईको मृत्यु

Posted on: 19 Apr, 2021

वैशाख ६, बाँके । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहनुभएकी स्टाफ नर्सको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी बाँकेमा होमआइसोलेशनमा रहनुभएका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा आज बिहान करीब १ बजे मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!