बारामा हतियार लुट्ने पक्राउ

Posted on: 31 Jan, 2018

माघ १७, बारा | गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिनुभयो । 

तस्करको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते समेत भएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी, आज महागढीमाई–६ बबुआइन नजिकैको सडकबाट भन्सार छली ल्याइएको बीआर ०५ टी ६५१०, बीआर ०५ डी ९०४१, ग ४ प १३०८ र ना ३ प ३९१६ नम्बरका चार थान मोटरसाइकल र त्यसमा लोड गरिएको सूर्तीको आठ बोरा धुलोसहित तीन जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका–३ का भुलेन्द्र यादव, रामविश्वास यादव र शेषनाथ साह छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!