बर्दियामा फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

Posted on: 18 May, 2020

जेठ ५, बर्दिया | बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ ।

बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पुर्याएको छ ।   अधिकांश ठाउँका मकै बालीमा फट्याङ्ग्राले पात खाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा तीन हजार नौ सय हेक्टरमा वसन्ते मकै खेती गरिएको छ । लकडाउनका कारण औषधि नपाउँदा फट्याङ्ग्राको प्रकोप नियन्त्रण गर्न समस्या परेको छ । लकडाउनको कारण देखाउँदै कृषि प्राविधिक कार्यालय नै जाँदैनन् । लकडाउनकै कारण किसानको बारीसम्म पनि जान सक्ने अवस्थामा नरहेको बारबर्दिया, कृषि शाखाका नायब प्राविधिक सहायक राजेश वलीले बताउनुभयो । किसानहरुको समूह बनाएर फेसबुक पेजमा जोडेर कृषि समस्याबारे जानकारी दिने गरिएको उहाँले बताउनुभयो ।

मधुवन नगरपालिका वडा नं २ क्षेत्रमा मकैमा फटेङ्ग्राले बढी नै क्षति पुर्याएकाले  किसानलाई विषादी छर्न सुझाव दिए पनि एग्रोभेट नखुलेका कारण समस्या भएको कृषि शाखाका प्राविधिक सहायक वलीले बताउनुभयो । फटेङ्ग्राले मकैको सबै पात खाइदिएपछि उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म घट्ने निश्चित रहेको मधुवन नगरपालिका, कृषि शाखाका प्राविधिक सहायक एकराज वलीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बर्दियामा मकै बालीमा फटेङ्ग्राको प्रकोप बढेको कुरा किसानले फोन गरेपछि थाहा भएको र फोनमार्फत नै मकैमा आएको समस्या समाधानबारे जानकारी गराइएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!