बर्दियाको बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

Posted on: 01 Nov, 2017

कात्तिक १५, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ । 

नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्नुभयो । 

बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवद्र्धनलाई मुख्य योजना बनाई रु ७९ करोड १९ लाख बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

सभाले पारित बजेटअन्तर्गत पूँजीगततर्फ रु ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्टलगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ । 

अध्यक्ष श्रेष्ठले थप्नुभयो, “गाउँपालिकाअन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत्लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौँ ।” 

कर्मचारी नियुक्ति र उनीहरुको क्षमता वृद्धिसँगै पिछडावर्ग, मधेशी, मुस्लिम उत्थान तथा विपद् व्यवस्थापनलगायतका कार्यमा समेत बजेट केन्द्रित गरिएको छ । सभाले गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषिउपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ । 

पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यापर्यटनसँग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको अध्यक्षको भनाइ छ । 

गाउँपालिकालाई आफ्नो भवन नहुँदा समस्या परेको छ । आवश्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाइ भइरहेको उहाँले प्रष्ट्याउनुभयो । 

पारित बजेट कार्यान्वयमा निगरानी गरिने बताउँदै जनताको बजेट पूर्ण सदुपयोग गर्ने नीति लिइएको उहाँले बताउनुभयो । निर्माणका सबैकाम ठेक्का प्रक्रियामार्फत गर्दै मूल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरीय कामलाई प्राथमिकता दिइने बताउनुभयो । 

बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्न नसकेको स्थानीय कालु थारुले बताउनुभयो । उहाँले भन्नुभयो पहिलो पटक भएर पनि होला आशातित क्षेत्रमा बजेटले छुन सकेन । 

बजेटले जस्तोसुकै क्षेत्रलाई समेटेको भए पनि यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनलाई विशेष जोड दिएको राम्रै कुरा हो, उहाँले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!