काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on: 20 Jan, 2019

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । 

झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै केही समय लाग्नेछ । अहिले महानगरले सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक ठाउँ र बनाउन सकिने नसकिने विषयको अध्ययन थालेको छ । सो अध्ययनका आधारमा काम अघि बढ्ने प्रवक्ता उहाँले जानकारी दिनुभयो । 

अहिले महानगरका केही स्थानमा सार्वजनिक शौचालय रहेपनि ति अत्यन्तै फोहर र दुर्गन्धित छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो । 

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।” वडाबाट सिफारिस आएपछि मात्र महानगरले लागतसहितको डिजाइन तयार गर्नेछ । निर्माणका लागि लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!