दुःखीको थाङनो

Posted on: 11 Jan, 2018


– “कविगुरु” यज्ञप्रसाद सुवेदी

पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन ।

खुरपेटो पेटमा बाँध्ने घरमा छैन राशन ।।

अर्काले खाएको देख्दा आँखा पल्टाई हेरने ।

अरुले लाएको देख्दा ज्यूराले स्वाद फेरने ।।

।१।

विहान बेलुकी फेरी दिन भरी गाउँ डुलदा ।

अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।।

हेर्दछ देह यो मेरो सुहाउँदैन कतै पनि ।

घोरिएर संझन्छु रात्रकिो थाउनु अनि ।।

।२।

भरी होस् अथवा पेट भोकै रात परे पनि ।

पस्दछु थाउनाभित्र प्राणदाता तँ होस् भनी ।।

गुन्द्रीमाथि सुती फेरि थाउनु ओढदा जसै ।

आनन्द हुन्छ यो देह तातेर घुँरदा तसै ।।

।३।

थाउनु ओढदा खेरी जाडो भोक सब मेटिने ।

मसक्क भै निदाउँदा बा जीब सब भेटिने ।।

सपना देखदा खेरी रमाइलो उति रमझम ।

पुर्खा मेरा कति ताते तँ थाउनालाई नमो नम ः ।।

।४।

थाउनाभित्र खुम्चिदा न टण्टा न त काम क्यै ।

न नाङ्गो देखिने देह न बेइज्जत नाम क्यै ।।

टपक्क टाप मार्दामा शिरदेखि पैतालासम्म ।

हुना तातो हुने हो र तँ थाउनालाई नमो नम : ।।

।५।

बाउ बाजेहरुका भोटा गाँसिइ थाउनु भइस् ।

भाग्य ठूलो हुँदा मेरो पालो सम्म पनि रहिस् ।।

पुस्तौं पुस्ता रही मेरा छोरा नाति तताउनु ।

नमस्कार सदा गर्छु प्राणदाता तँ थाउनु ।।

।६।

हे प्यारा थाउना तेरा टाल्हा छन् देहमा कति ।

जति टाल्यो त्यति तातो हुँदै जान्छस् उतिउति ।।

थाउनु दुःखीको देव रक्षा गर्दंछ देहको ।

पुषे जाडो पनि जान्छ जाउना भित्र पस्छ जो ।।

।७।

तनक्क तन्कँदा खेरी थाउनुमा पाउ अल्झिने । 

सबेरै ब्यूँझी फाल्दामा एक घडि तक बल्झिने ।।

कहिले म अतालिन्थें बालकाल छँदा पनि ।

तथापि छ नमस्कार प्राणदाता तँ होस् भनी ।।

।८।

थाउनाकै छ बढी माया देहको बरु मान्दिन ।

कम्बल, फाइबर, पश्मीना आदि भन्न जान्दिन ।।

आज सम्म पनि ओढें अझै कति म ओढ्दछु ।

सहश्र होस् है थाउनु तँलाई हात जोड्दछु ।।

।९।

कल्पना सङ्ग्रह द्वितीय भाग (२०२७ साल) बाट साभार कविता


यस बिषयमा तपाइको प्रतिक्रिया...!