एक्कासी मुख्य चोकमै शङ्क रन्किएपछि ! (भिडियो सहित)

Posted on: 31 Jan, 2017

प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भने बालबालिकाहरु कोही पैदल, कोही साइकलमा विद्यालय जान हतारिँदै थिए । सदरमुकाम गुलरिया स्थित मुख्य चोकमा नै एक्कासी शङ्खघण्टको आवाज आएपछि भने सबैको ध्यान एकैछिन भएपनि त्यतैतिर आकर्षित भएको थियो ।

विगत केही वर्षदेखि नै कहिले संविधान नल्याएको, कहिले राजनैतिक अस्थिरता छाएको र कहिले बन्द हड्ताल भएको र कहिले निर्दोष जनताहरु विनाकारण मारिएको भन्दै नेपालका धेरै ठाउँहरुमा श्राद्ध, शान्तिपूजा तथा पाञ्चायन पूजन गर्दै आउनुभएका गुलरियाका नागरिक राकेश कुमार शर्माले वर्तमान नेतृत्वबाट अब मुलुक झन् झन् सङ्कटमा फँस्दै जाने र जनताहरुको टाउको प्रहार हुने काम मात्रै हुने भएकोले यसको यथाशीघ्र विकल्प खोजिनु पर्ने भन्दै पाञ्चायन देवहरुको पूजन गर्नुभएको हो । 

राष्ट्र र राष्ट्रियता जोगाऔँ भन्दै वहाँले नयाँ शक्तिको आवश्यकतालाई औंल्याउनु भएको छ । कार्यक्रममा राखिएको व्यानरमा वहाँले राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, पाँच प्रदेश, प्रजातन्त्रको रक्षा, हिन्दु राष्ट्र कायम गर्न, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ३ जङ्गबहादुर राणा आदि जस्ता राष्ट्रवादी शक्तिको आवश्यकता भएको कुरा उल्लेख गरिएको थियो । साथै पाञ्चायन पूजनपश्चात वहाँले नेताहरुले डलरको लोभमा सनातन हिन्दू धर्मको अस्तित्व मेट्ने प्रयास गरेकोले आक्रोस व्यक्त गर्नुहुँदै यदि यस्तै हो भने यो मुलुकको प्रगतिको लागि लिजमा दिए भैहाल्यो नि भन्नुभयो । 

वहाँले चोकमा विधिवत् पाञ्चायन पूजन गरिरहँदा वरपर बसेर विभिन्न व्यक्तिहरुले दृश्यावलोकन गरेका थिए ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!