वृद्धाश्रम बन्यो पुस्तकालय : १ लाख बढीको दान, कति राम्रो काम !

Posted on: 14 Apr, 2018

प्रभात सुवेदी । बैशाख १, बर्दिया । 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ कृष्ण मन्दिर परिसरमा रहेको निजानन्द वृद्धाश्रमलाई आज नयाँ वर्षको शुभ दिन पारी भव्य समारोहका बीच जेष्ठ नागरिक सामुदायिक पुस्तकालयमा रुपान्तरित गरिएको छ । 

यसरी रुपान्तरित गरिएतापनि अतिथि तथा जेष्ठ नागरिकका लागि भने केही कोठा छुट्टाइएको छ । 

स्थानीय समाजसेवी महेन्द्र पँगेनीले करीब १ लाख मूल्य बराबरका न्यानो कपडाहरु  जेष्ठ नागरिकहरुका लागि सो अवसरमा दान समेत गर्नुभएको हो । 

ठाकुरबाबा नगरपालिका वडा नं. १ मा रहेको आश्रमका लागि कम्मल, तन्ना, सल, दरी, मोजा, मफलर, टोपी, व्याङ्केटहरु वहाँले दानस्वरुप नगरप्रमुख घन नारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुहुँदै सहयोग गर्नुभएको हो । साथै वहाँले आफ्ना पिता धन प्रसाद पँगेनीको स्मृतिमा सो परिसरमा विवाह मण्डपको निर्माण गरिदिने वचनवद्धता समेत व्यक्त गर्नुभएको छ ।

  

यसअघि जिल्ला विकास समितिको सहयोगमा कृष्णमन्दिर परिसरमा निजानन्द वृद्धाश्रम बनेको र हाल उक्त चारकोठे भवन प्रयोगविहीन भैरहेको अवस्थामा पुस्तकालय समेत स्थापना गरिएको हो । 

आज एक कार्यक्रमका बीच नगरप्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा पुस्तकालयको शुरुवात गरिएको हो । 

साथै आउने पाहुनाहरुको लागि पनि आवासिय कार्यक्रम यथावत रहेको कृष्ण प्रणामी संस्थाका केन्द्रिय सदस्य नगेन्द्र खड्काले बताउनुभयो । 

२ सय ७५ धार्मिक तथा साहित्यिक, कृषि, पशुपालन सम्बन्धी पुस्तकहरुबाट शुरु गरिएको पुस्तकालयमा पुस्तकहरुको संख्या पाठकहरुको रुची अनुरुप बढाउँदै लगिने खड्काले बताउनुभएको हो  । समाज कल्याण केन्द्रका प्रशासन प्रमुख कृष्ण कँडेल, समाजसेवी सुरेस पन्थ र पुस्तक व्यावसायी राजु शर्मालाई पुस्तकालयको व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरियो । 

नन्दराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्य र समाजसेवी विद्या प्रसाद खनालको विशेष आतिथ्यतामा सम्पन्न गरिएको हो ।


कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!