११ प्रतिशत जिडिपी क्षतिको कारण : कुपोषण

Posted on: 23 Apr, 2018

प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को ११ प्रतिशत क्षतिको कारण कुपोषण रहेको आज गुलरियामा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बताइएको छ ।


बहुक्षेत्रीय पोषण योजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम लागू पूर्व जिल्लामा यसको कार्यान्वयनका लागि सहजीकरण, अनुगमन सम्बन्धी जिल्लास्थित सञ्चारकर्मीहरुका लगि आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम २०७५/०७६–२०७९/०८० अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र तत्सम्बन्धी सञ्चालन गरिएका अन्य कार्यक्रमहरुको प्रभावकारी रुपमा अनुगमन गर्दै कुपोषणलाई क्रमिक रुपमा न्यूनीकरण गर्दैै लैजानका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने 'पोषणका लागि हातेमालो कार्यक्रम' का सिताराम रिमालले बताउनुभयो । वहाँले उपस्थित सञ्चारकर्मीहरुका लागि पोषण, कुपोषण, अधिकपोषणका साथै पोषणको कमी तथा यसका तत्कालीन र दीर्घकालीन असरहरुका बारेमा बताउनुहुँदै बालकको गर्भावस्थादेखि २ वर्षभित्र ८० प्रतिशत मानसिक (मस्तिष्क) को विकास भैसक्ने र ५ वर्षभित्र १० प्रतिशत र बाँकी पाँच वर्षपछि हुने भएकोले बाल्यअवस्थामा नै कुपोषित बालबालिकाहरु नै पछि गएर दीर्घ रोगको शिकार हुने हुँदा गर्भावस्थादेखि सुनौला हजार दिनसम्म बालबालिकाहरुको पोषण तथा खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मुलुकको गरिबीको २८ प्रतिशत कारण कुपोषण भएको तथ्य रहेकोले गर्दा ५ वर्षमुनीका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको बताउनुहँदै पोषणलाई स्वास्थ्यको विषय मात्रै भनेर नबुझ्न र समग्र जीवनशैलीका रुपमा बुझ्न र बुझाउन सञ्चारकर्मीहरुसँग अनुरोध गर्नुभएको थियो ।
बहुक्षेत्रीय पोषण योजना : दोस्रो कार्यक्रम स्थानीय निकायहरुबाट नै सञ्चालन गरिने भएकोले अब स्थानीय निकायले गर्ने विकासे कामहरुका साथसाथै आगामी दिनमा यस प्रकारका विषयहरुलाई पनि संवेदनशील रुपमा हेरिनुपर्ने र स्थानीय निकायहरुबाट यो कार्यक्रमलाई सफल पार्नका लगि योजना तय गरेर प्रतिवद्धता जनाइसकेको हुँदा सञ्चार माध्यमहरुको अनुगमन तथा प्रभावकारिताको सवालमा विशेष निगरानी गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी विश्वामित्र कुईकेलले स्थानीय निकायमा कार्यक्रम तर्जुमाका चरणहरुका सन्दर्भमा प्रष्ट पार्नुभएको थियो । यसका साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, भूमिका तथा रणनीतिका सवालमा पनि छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरण जिसस का कार्यक्रम अधिकृत पार्वती पण्डितले गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!