बारबर्दियामा १८ योजना पारित

Posted on: 01 Apr, 2019

चैत १८, धम्बोझी | बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ । 

बारबर्दिया नगरपालिकाको करीब रु ८१ लाख ५० हजार बजेटको ११ वटा वडास्तरीय योजनालाई संशोधन गरी १८ योजनामा बजेट विनियोजन गरी नगरसभाबाट पारित गरिएको छ ।

समपूरक अनुदान विनियोजनमा वडा नं १ मा मुर्गिहवा टोलको झरनमा कल्भर्ट निर्माणमा स्रु एक करोड, वडा नं ४ को घोरपित्तादेखि गुरुवागाउँ हुँदै बाटो स्तरोन्नतिमा रु दुई करोड, वडा नं ६ मा नगरपार्क जयनगरमा रु एक करोड, वडा नं ७ को हर्नवादेखि वडा कार्यालय जोड्ने खटैला नालामा पुलका लागि रु एक करोड, वडा नं ८ मा चौकीपुरदेखि वडा कार्यालय जोड्ने बाटो ग्राभेलमा रु एक करोड, वडा नं १० मा बैदीचोकमा कृषिउपज सङ्कलन केन्द्रमा रु एक करोड र वडा नं ११ मा बेलभार गिदरपुर जोड्ने बाटाको भादा खोलामा कल्भर्ट र नमूना गाउँमा सामुदायिक हल निर्माणमा रु एक करोडको योजना पारित गरिएको छ । 

उक्त योजनाको ४० प्रतिशत सङ्घीय सरकारले बजेट उपलब्ध गराउने छ भने ६० प्रतिशत वडास्तरबाट व्यहोरिनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा वडा नं ६ मा सदाशिव बहुमुखी क्याम्पस भवन निर्माण र खानेपानी व्यवस्थापनमा रु ५० लाख, वडा नं १० मा जनसेवा बहुमुखी क्याम्पस पूर्वाधार निर्माण र खानेपानी व्यवस्थापनमा रु १३ लाख, वडा नं ११ मा विजय प्रावि भवन निर्माणमा रु १० लाख, वडा नं ५ को बारबर्दियामा मरुवा निर्माणमा रु १० लाख, वडा नं २ मा कृषिउपज सङ्कलन तथा ढुवानीका लागि ठूला सवारीसाधन दुई खरीद गर्नका लागि रु ८० लाख, वडा नं ७ मा शहीद उद्यान निर्माणमा रु १० लाख, वडा नं ४ मा जमुना महिला कृषि सहकारी संस्था अधुरो भवन निर्माणमा रु १० लाख र वडा नं ८ मा युवक मावि दुब्धाको भवन निर्माणमा रु १० लाख गरी कूल रु एक करोड ९३ लाख बजेट रहेको छ । 

नगरपालिकाको भवन निर्माण र कार्यालय प्रयोजनका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरिएको छ । नगरसभामा सदस्यले वडा कार्यालयको भवन निर्माण गर्ने र बिग्रेका सडक तत्काल मर्मत गर्नुपर्ने कुरा उठाएका थिए । नगरसभाको अध्यक्षता नगर प्रमुख दुर्गाबहादुर थारुले गर्नुभएको थियो भने प्रस्ताव नगरउपप्रमुख अञ्जु दहितले पेश गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!