बर्दियामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या

Posted on: 20 Jun, 2019

असार ५, राजापुर । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

सुस्त श्रवण भएका बालिकालाई भर्ना लिइएन

बढैयाताल गाउँपालिका–४ खैरेनीकी १० वर्षीया राधा पासी चाहेर पनि विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छिन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको बालिकाका बुबा राधेश्याम पासीले बताउनुभयो । 

राधाको उमेर पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लग्नुभएको थियो । तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन । राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गर्नुभयो बुबा राधेश्याम पासीले । तर पढाउन नसकिने भनेर फिर्ता पठाइयो ।

घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी साङ्केतिक भाषा मात्रै बुझ्दछिन् र बोल्दछिन् । 

छोरीले पढ्न नपाउँदा आमा हिरा पासी चिन्ता व्यक्त गर्नुहुन्छ । अपाङ्गता भएकी छोरीले पढ्नबाट वञ्चित हुँदा उनको भविष्य अन्धकार हुने भयो भन्ने सबैभन्दा बढी चिन्ता आमा हिराको छ । 

नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाको लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ । 

स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशङ्का उत्पन्न भएको बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!