घरघरमा तरकारी

Posted on: 18 May, 2020

जेठ ५, बर्दिया | बर्दिया बारबर्दिया नगरपालिका ५ धोबियाकी सीता थारु एकाबिहानै बारीमा पुग्नुहुन्छ । बारीभरि लटरम्म फलेका काँक्रा, करेला, लौका, फर्सी, बोडी, टमाटरलगायत हरिया ताजा तरकारी टिपेर छिटुवामा भरेसँगै उहाँ सदरमुकाम गुलरियामा बेच्दै हिँड्ने गर्नुहुन्छ ।  गाउँका अन्य महिला पनि छिटुवा टाउकामा बोकेर टोलटोलमा तरकारी बेच्न निस्कन्छन् । लकडाउनमा घरघरमै तरकारी बेचेर गुजारा गर्छन् ।

बन्दाबन्दीमा पनि बस्तीमा तरकारी पुर्याउन पाउँदा सीता निक्कै खुशी हुनुहुन्छ । “लकडाउनले बजार बन्द छ बारीमा उत्पादन भएको हरियो र ताजा तरकारी घरघरमै पुगेर बेच्छु”, उहाँले भन्नुभयो,“तरकारी बिक्रीले दैनिक घरको गुजारा चलेको छ । हाटबजार बन्द भएकाले तरकारी बेच्ने ठाउँ छैन । दुई घण्टा डुलेपछि सबै तरकारी बिक्छ ।” 

उनीसँगै तरकारी बेच्न अरु महिला पनि आउने गरेका छन् । गुलरिया ४ बगिही गाउँका दैनिक १५–२०  किसानको पनि  घरघरमै पुगेर हरियो तरकारी बेच्ने दिनचर्या छ  । बगिहीकी सुनीले तरकारी नबेच्ने हो भने घरव्यवहार टार्न मुश्किल हुने भएकाले तरकारी बेचेर घर खर्च चलाएको बताउनुभयो ।

गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी इन्द्र श्रेष्ठले आफ्नै घरमा तरकारी किन्न पाउँदा खुशी व्यक्त गर्नुभयो । घर अगाडि नै छानेर ताजा तरकारी किन्न पाउँदा धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!