उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल एम्बुलेन्सविहीन

Posted on: 06 Jun, 2018

जेठ २३, भक्तपुर | स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो । 

वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन । 

भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो । “विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको हो मलाई थाहा छैन,” अस्पतालका मेसु सुधा देवकोटाले भन्नुभयो, “अहिले एम्बुलेन्स नहुँदा समस्या भइरहेको छ । 

अस्पतालले पटकपटक रेडक्रससँग उक्त एम्बुलेन्स फिर्ता माग्दा अहिलेसम्म फिर्ता आउन नसकेको डा देवकोटाले जानकारी दिनुभयो । 

सरकारी अस्पतालमा एम्बुलेन्स नभएकै कारण अन्य संस्थाबाट महँगो रकम तिरेर सेवा लिन बाध्य भएको बिरामीको गुनासो छ । पछिल्लो समय जिल्ला समन्वय समितिले सञ्चालन गरिरहेको एम्बुलेन्स अस्पताललाई दिने प्रस्ताव गरेको थियो तर अस्पताल प्रशासनले दुईजना चालकको भारसमेत लिनुपर्ने भएपछि सो एम्बुलेन्स लिन नसकिएको मेसु देवकोटाले बताउनुभयो । 

“जिल्ला समन्वय समितिको एम्बुलेन्स अस्पताललाई दिने भन्ने कुरो थियो । त्यो एम्बुलेन्स अस्पतालमा ल्याए दुईजना ड्राइभर पाल्नुपर्ने, तर अस्पतालको क्षमता भने दुईजना ड्राइभर पाल्न सक्ने स्थितिमा छैन”, उहाँले भन्नुभयो, "अहिले प्रादेशिक सरकार आइसकेकाले सबैभन्दा पहिला प्रदेश सरकारसँग एम्बुलेन्स माग गरेको छु ।"(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!