जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया अस्मिताको ज्यान गयो

Posted on: 13 Jun, 2018

जेठ ३०, भक्तपुर । बुधबार भक्तपुरकाे जडिबुटीमा टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरकाे पछाडि सिटमा रहेकी एक महिलाको ज्यान गएको छ ।  मृत्यु हुनेमा काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारी रहेको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते मात्र रहेको जनाइएको छ ।

बा.४ ख ३५५८ नम्बरकोे टिपरले बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गर्दा त्यतै गइरहेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई जडिबुटीमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भण्डारीलाई उपचारका लागि ललितपुरको बि एण्ड बी अस्पतालमा लगिएकोमा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । 

 ठक्कर दिने टिपरमा दुर्घटनापछि आक्रोशित भीडले आगो लगाइदिएको छ । आगलागीबाट टिपरमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । ठक्कर दिने ज्यान लिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयले निकैबेर सडकमा नाराबाजी गरेका थिए ।

दुइवटा दमकललेको सहयोगमा टिपरको आगो नियन्त्रणमा लिइसकिएको बताइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!