ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय

Posted on: 10 Jan, 2018

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय


  पुस २६ , भक्तपुर (रासस)  नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । 

ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिनुभयो । उहाँले भोलिदेखि नै कार्यदलले सघन रुपमा काम शुरु गर्ने बताउनुभयो । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उहाँले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गर्नुभयो । 

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ । 

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!