बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा: बिजुक्छे

Posted on: 09 Apr, 2018

चैत २६, नगरकोट | नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताउनुभएको छ । 

भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने भएकाले समुदायसँगै शिक्षकले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले देशको समसामयिक परिस्थितिबारे विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीलाई आलोचनात्मक तरिकाले सोच्न सक्ने बनाउन जरुरी छ भन्नुभयो । 

कार्यक्रममा बिजुक्छेले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि विभिन्न किसिमले सहयोग गरेका व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा मध्यपुरठिमीका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय तहमा आएको माध्यमिक तहसम्मको शिक्षालाई नगरपालिकाले ग्रहण गर्दै अघि बढेको बताउँदै निजी र सामुदायिक विद्यालयबीचको भिन्नता हटाउने काममा अग्रसर बन्ने बताउनुभयो । 

इसिडीदेखि कक्षा १२ सम्म गरी ५०४ छात्र र ४६६ जना छात्रा गरी कूल ९७० विद्यार्थी तथा ४० जनशक्ति रहेको उक्त विद्यालयको वार्षिकोत्सवमा शिक्षाका विभिन्न व्यक्तित्वले मध्यपुरठिमीको शिक्षा विकासमा आदर्श स्कूलले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई मध्यपुरठिमीको उत्कृष्ट र नमूना विद्यालय बनाउने योजना प्रस्तुत गर्नुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!