भक्तपुरमा बालकदेखि वृद्धसम्म होमिए परम्परा जोगाउन आगोमा

Posted on: 22 Feb, 2017


रमेश गिरी/फागुन ११, भक्तपुर । आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् । 

कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा नचाएर खलि खुवाउने कार्य सम्पन्न गरिएको हो । 

धामी गुरुले तान्त्रिक विधिद्वारा कुलदेवताको आह्वान गरी यहाँका राउत परिवारको पुरुषको शरीरमा कुलदेवता चढाउने कार्य सफल भएपछि आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको डाङ्ग्रे हरिशरण राउतले बताउनुभयो । 

विसं २०१३ मा यसैगरी आगोमा नाचेर खली खुवाए पछि निरन्तर रुपमा कुलपूजा (दिवाली) का दिनमा शरीरमा कम्पन गराई कुलदेवता मान्दै आएको परम्परालाई ६० वर्षपछि खली खुवाएर ८ जना नयाँ डाङ्ग्रे तयार पारिएको उहाँले बताउनुभयो । 

तत्कालीन अवस्थामा दुईजना डाङ्ग्रे रहेकामा हाल ८५ वर्षका रत्नबहादुर (शिवराम) राउत मात्रै रहेको र उहाँको वृद्ध अवस्था भएकाले नयाँ डाङ्ग्रे तयार पारिएको स्थानीय प्रकाश राउतले बताउनुभयो । 

कुलदेवता मानवको शरीरमा प्रवेश गरेपछि आगोमा नाच्दा पनि नपोल्ने विश्वास अनुसार बालकदेखि बृद्धसम्मले आगोमा नाचेर खलि खुवाउने परम्परालाई धानेका हुन् । 

कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । यसो गरेमा कुलभित्र शान्ति हुने, अनिष्ट नहुने, नराम्रो हुनेलाई कुलपूजामा डाङ्ग्रेले सचेत गराउने र कुलदेवतालाई मान्दा प्रगति हुने विश्वास रहेको डाङ्ग्रे कुमार राउतले बताउनुभयो । 

काठमाडौँ सितापाइलाका गुरु दुर्गाप्रसाद सुवेदीले दुई महिना लगाएर यहाँका हरिशरण, निर्मल, दिपेश, सुकदेव, दिपेन्द्र, उत्तम, निरन्जन र निरज राउतको शरीरमा कुलदेवता प्रवेश गराएपछि नयाँ डाङ्ग्रे तयार भएको राउतले बताउनुभयो । 

एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा अझै पनि तान्त्रिक शक्ति रहेको छ भन्ने विश्वासलाई यस्ता परम्पराले प्रमाणित गरेको छ । ब्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायका बासिन्दाले पनि आफ्नो कूल गोत्रमा कोही अकाल मृत्यु भएमा, कुल बिगे्रमा वायु उतारेर खली खुवाउँदै उनीहरुलाई मोक्ष गर्ने परम्परासमेत रहँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!