भक्तपुरमा साझा बस चलाए ग्रामीण क्षेत्रमा गाडी ठप्प पार्ने चेतावनी

Posted on: 20 Mar, 2017

 चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको भन्दै साझा बस भित्रीए ग्रामीण रुटमा यातायात ठप्प पार्ने धम्की दिए ।

ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए । कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले साझा बस भक्तपुर चलाउने विषयको विरोध गरे ।

व्यवसायीले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप समेत लगाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!