भक्तपुरमा लागुऔषधसहित पाँचजना पक्राउ

Posted on: 22 Mar, 2017

चैत ९, भक्तपुर ।  महानगरीय प्रहरी वृत्त ठिमीले विभिन्न नामका अवैध लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–२ बोडे बस्ने ३० वर्षीया लक्ष्मी श्रेष्ठ (अनिता), भक्तपुर नगरपालिका–३ बस्ने २२ वर्षीय लक्ष्मण कर्माचार्य रहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

त्यसैगरी लिसिखु–९ सिन्धुपाल्चोक घर भई मध्यपुरठिमी बोडे बस्ने २३ वर्षीय नारायण उप्रेती, मध्यपुरठिमी बोडे–२ का २२ वर्षीय निरोज कर्माचार्य, बोडे–५ का २४ वर्षीय राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमध्ये ६ वर्षअघि पनि लागुऔषध बिक्री–वितरणमा प्रहरीले पक्राउ गरी कारबाही भोगेकी लक्ष्मी श्रेष्ठले वीरगन्जबाट आगुऔषध ल्याउने र लक्ष्मण कर्माचार्यले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले उप्रेती, कर्माचार्य र महर्जनलाई भने लागुऔषध खरिद गरी सेवन गर्ने गरेको अभियोगमा पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!