एसईई नतिजाको विस्तृत विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

Posted on: 16 Jun, 2017

रमेश गिरी/असार २, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिनुभयो । 

त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४२७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३१४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख ८ हजार ४६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५७७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २८५ जना र शून्य दशमलव ८० सम्म १५ जना उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । 

परीक्षामा उमेर नपुगेका दुईजना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका एक हजार ३२० जना र प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २१६ जनाको उत्तरपुस्तिका रद्द भएको र सात हजार ६०४ जनाले परीक्षा छाडेको जनाएको छ । 

त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २२२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर एक हजार ९६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर सात हजार ४७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर पाँच हजार ७५८ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६०५ जना र शून्य दशमलव ८० सम्म एकजना उत्तीर्ण भएका छन् । 

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जना र परीक्षा नदिएका दुई हजार ४०२ जना रहेको पनि पत्रकार सम्मेलनमा कार्यालयले जनाएको छ । 

परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको गे्रड वृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यवस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मूल विषयमा दुई विषय भन्दा बढी अनुपस्थित रहेको र दुई विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । 

गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने उहाँले बताउनुभयो । 

गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् । 

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा पुनःयोग गराउन सक्नेछन् । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत १५ दिनभित्र निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

एसईई पूरक (ग्रेडवृद्धि) साउन १९ गतेदेखि 

त्यसैगरी एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । 

कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ । 

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ: अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!